चितवनमा ३० प्रतिशत धान रोपाइ : राष्ट्रिय भन्दा जिल्लामा दोबरले उत्पादन वृद्धि

 

चितवन, १५ असार । चितवनमा ३० प्रतिशत भन्दा धेरै धान रोपाइ भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा ४० देखि ४५ प्रतिशत रोपाइ भएपनि पश्चिम चितवन र माडी क्षेत्रमा भने कम मात्र रोपाइ भएको छ ।
चैते धान रोपाइ हुने पूर्वी चितवनमा वर्षे धानपनि छिटो रोपाइ हुने कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेका अनुसार चितवनमा वर्षे र चैते धान गरी बर्सेनी ३० हजार ५०० हेक्टरमा खेती गरिदै आएको छ । खोती योग्य जमिन खण्डिकरण भएको कारण धान रोपाइ हुने क्षेत्र घट्न थालेको जानकारी दिनुभयो ।
कार्यालयलेका अनुसार माडीमा २० प्रतिशत र पश्चिम चितवनमा पाँच प्रतिशत रोपाइँ सकिएको छ । समग्र जिल्लाको प्रतिशत ३० भन्दा धेरै रहेको जानकारी दिएको छ । मंगलबार साँझदेखि वुधबार साँझसम्म पानी परेको कारण धान रोपाइ प्रतिशत वृद्धि भएर गएको कृषि ज्ञान केन्द्रका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
‘धान प्रवद्र्धनका लागि प्रदेश सरकारले विशेष महत्व दिएको छ । धान खेती प्रवद्र्धनका लागि भनेर सरकारले दुई करोडबढी रकम दिएको छ’, उहाले भन्नुभयो । धान, मकै र गहुँको विउमा किसानलाई प्रोत्साहन गर्न यस वर्ष एक करोड २५ लाख रुपैयाँ प्राप्त भएको उहाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाई, चितवनका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले नेपालमा सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी १३० वटा जातका धान रोप्ने गरिन्छ । चितवनमा भने बर्खे धानमा सबैभन्दा बढी सावित्री जातको धानले ओगटेको उहाले जानकारी दिनुभयो । त्यसको अलवा सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ लगायतका धान रोपिन्छ ।
कृषिमा प्रविधि भित्रिएपछि उत्पादकत्व बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवन सूचना अधिकारी माधव पौडेलले बताउनुभयो । उहाका अनुसार धानको उन्नत बिउ उत्पादन गर्ने स्रोत केन्द्रदेखि धान रोप्ने, काट्ने र पराल थन्काउनेसम्मका मेशिन जिल्लामा भित्रिएका छन् ।
‘पछिल्लो समय चितवनको धान उत्पादन बढेको छ’, उहाले भन्नुभयो ‘असल विउको प्रयोग गरे मात्रै पनि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ । युरिया मलको जथाभावी प्रयोग कम गरेपछि रोगकिरा कम लागेको किसानहरुले बताउनुभएको छ ।’ धानको बिउमा चितवन आत्मनिर्भर भएको भन्दै उहाले सूचीकरण नभएका बिउ प्रयोग गर्न नहुने बताउनुभयो । सामुदायिक नर्सरीको अभ्यासले किसानको उत्पादन लागत पनि घटेको उहाले जानकारी दिनुभयो ।

राष्ट्रिय उत्पादन भन्दा चितवनमा दोबरले वृद्धि
राष्ट्रिय रुपमा धानको उत्पादन प्रतिहेक्टर ३.८ मेट्रिक्टन भएपनि चितवनमा भने ६.५ मेट्रिक्टन उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालय चितवनले जानकारी दिएको छ ।
यहाँका किसानले धान उत्पादनको लागि सचेत भएर विउ छनौटदेखि हेरचाहमा ध्यान दिएको कारण वृद्धि भएको कार्यालयले जानकारी दिएको छ । विउ छनौटमा धेरै उत्पादन हुने धान, गोडमेल, समयमा महंगोमा भएपनि रासायनिक मल खरिद गर्ने, विषादीको प्रयोग गरेर उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितनवका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो ।
उहाका अनुसार गत वर्ष धान उत्पादन प्रतिहेक्टर ४ देखि ५ मेट्रिक्टन रहेकोमा यस वर्ष भने वृद्धि भएर ६.५ मेट्रिक्टन पुगेको छ । ‘प्रति हेक्टर साढे ६ मेट्रिक्टन उत्पादन हुनु भनेको ज्यादै राम्रो हो’ उहाले भन्नुभयो ‘सवै ठाउँबाट हामीले विवरण राख्दैछौ । चैते धानको उत्पादन वृद्धि स्वभाविक हो तर वर्षे धानसमेत उत्पादन वृद्धि भएको पाएका छौ ।’

 

शेयर गरौ

ताजा अपडेट