चितवन समाचार डटकम , ८ फागुन ।
निर्वाचनका बेला कतिपय उमेदवारले हौवा पिट्ने गरेको पाईयो, “निरवाचित भयपछी म पारिश्रमीक पनि लिने छैन ।” तर, पारिश्रमिक नलिने कुरा त परको भयो । कतिपयले पाउनुपर्ने भन्दा पनि धेरै सुविधा भोग गर्न नपाएको झोकमा लफडा मच्चाउने गरेका छन् । चितवनको भरतपुर महानगरपालिकामा अहिले यस्तै लफडा चलिरहेको छ ।
आफ्नै घर हुदाँहुदै पनि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले घरभाडा पाउन गरेको आग्रह प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले ईन्कार गरेपछि महानगरमा अहिले “शितयुद्ध” नै देखापरेको छ । आफुलाई प्रशासकीय अधिकृतले नटेरेको, अभद्र ब्यवहार गरेको भन्दै उपमेयर पार्वती शाहले मंगलवार भएको महानगरको नियमित वोर्ड बैठकमा समेत सहभागीता जनाउन मान्नु भएन् । नेपाली काँग्रेसवाट उपमेयर हुनुभएकी शाह वैठकवाट वाहिरिएपछि काँग्रेसवाटै निर्वाचित अरु वडाका अध्यक्षहरुपनि निस्किए ।
जनप्रतिनीधिले सरकारवाट नियमित रुपमा पारिश्रमिक पाँउछन् । भरतपुर महानगर पालिकामा मेयर रेनु दाहालको मासिक पारिश्रमिक ४२ हजार छ । त्यसवाहेक सावारी साधन, ईन्धन र घर भाडाको सुविधा दाहालले लिनुभएको छ । मेयर दाहालले यहाँ आफ्नो बस्ने घर नभएको भन्दै घरभाडा लिदै आउनुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १० मा महानगर आफैले मासिक ३३ हजार ६ सय सोझै घरधनीलाई दिने गरी मेयर दाहालको लागी घरभाडामा लिएको छ ।
ईन्धन वापत मेयर दाहालले गत अशोजमा १४ हजार, कार्तिकमा १९ हजार र मंशिरमा १२ हजार रुपैयाँ लिनुभएको भरतपुर महानगरपालिकाका लेखा अधिकृत षडानन्द अधिकारीेले जानकारी दिनुभयो । यो तिन महिनामा मेयर दाहालले ईन्धन वापत ४५ हजार रुपैयाँ खर्च गर्नुभएको छ ।
त्यस्तै भरतपुर महानगरपालिकाकी उपमेयर पावर्ती शाहले सरकारवाट मासिक पारिश्रमिक ३७ हजार पाउनुहुन्छ । त्यसवाहेक ईन्धन र सवारी साधनको सुविधा पनि उहाँलाई छ । भरतपुर महानगरपालिका वडा नम्वर १२ मा उहाँको घर छ । आफ्नै घर भएकालाई घर भाडा दिन नमिल्ने भएकाले उहाँलाई घरभाडाको रकम उपलब्ध गराउन नसकिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनुभयो । “उपमेयरज्युले घर भाडा वापतको रकम व्यबस्थापन गर्न मलाई भन्नुभएको हो, तर यहाँ आफ्नै घर हुदाँहुदै प्रवन्ध गर्न नमिल्ने व्यहोरा जनाएँ” सुवेदीले भन्नुभयो, “यसलाई बिबादका रुपमा नवुझौं ।”
उपमेयर शाहले ईन्धनवापत गत अशोजमा २४ हजार, कार्तिकमा ३८ हजार र मंशिरमा ३२ हजार रुपैया खर्च गर्नुभएको महानगरका लेखा अधिकृत अधिकारीेले जानकारी दिनुभयो । तिन महिनाको अवधिमा ईन्धनमा ९४ हजार रुपैँया खर्च गर्नुुभएको छ । ईन्धनमा मेयर दाहालले भन्दा उपमेयर शाहले दोब्वर वढी खर्च गरेको देखिन्छ ।
के गर्दैछ त महानगर ?
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सेवासुबिधा भन्दा पनि महानगरले बिकासमा ध्यान दिएर अघि बढेको बताउनुभयो । आफ्नो ध्यान सिंगो महानगरको नमुना ढंगको बिकासमा लागी परेको बताउनुभयो । महानगर प्रमुख दाहालका अनुसार स्मार्ट सिटी मास्टर प्लानका लागि प्रश्नावली तयार भै घरपरिवार तहको तथ्यांक संकलनको तयारी अन्तिम चरणमा पुगेको छ । सहभागितामूलक विकास मोडल अवलम्वन गरी ५० देखि शत प्रतिशतसम्म लागत सहभागिता जुटाइएको छ । ४ स्थानमा निजी सवारी साधन पार्किङ लट सञ्चालनमा ल्याइएको, वडा नम्बर ३ स्थित न्यूरोडमा ट्रक पार्किङ्गको व्यवस्था गरिएको, सडक पेटीमा व्यवसाय गर्नेलाई बालकुमारी कन्या माविको जग्गा भाडामा लिई व्यवस्थापन गरिएको, तीनपांग्रे सवारी साधनलाई मुख्य राजमार्गमा नियमन गरिएको र अन्य साना सवारी साधनको रुट निर्धारणको प्रक्रिया शुरु गरिएको छ ।
यसैगरी, सडक बत्ती जडान, वृक्षारोपण, एक घर एक बिरुवा अभियान, वडा नम्बर चारलाई वातावरणमैत्री वडा घोषणा, वडा नम्बर दुईलाई बालश्रममुक्त वडा घोषणा, सिंगो महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा, महानगरभित्र रहेका सार्वजनिक र पर्ती जग्गाहरु खोजबिन गरी संरक्षण, स्वदेशी र विदेशी शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरिएको महानगर प्रमुख दाहालले बताउनु भयो ।
महानगर प्रमुख दाहालका अनुसार, सडक ग्राभेल, पीच, नाली, सडकपेटी, पार्क तथा पोखरी निर्माण तथा संरक्षण, ९५ किमी रिङ्गरोड र केही लिंकरोडमध्ये १० किमी रिङ्गरोड र ६५ किमी लिङ्करोड निर्माण शुरु भएको छ भने अन्य स्थानमा ईआइए र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । गत आवमा महानगर, जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ९६ किमी नयाँ बाटो कालोपत्रे भएका छन् । करिब ६० किमी सडक मर्मत भएका छन् ।
महानगरपालिकाका वडा कार्यालयहरु व्यवस्थित गर्न २ वटा वडा कार्यालयको निर्माण सम्पन्न भैसकेको छ भने अन्य ५ वटा वडा कार्यालयहरु निर्माणको प्रकियामा छन् । सहरी विकास मन्त्रालयको बजेटबाट देवाघाटमा अत्याधुनिक शवदाह गृह निर्माण, बस टर्मिनल मर्मतका साथै रिङरोड र लिंकरोडको काम प्रारम्भ भएको छ ।
‘नारायणगढको लायन्सचोकस्थित तरकारी बजारमा रहेको करिब १० कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बहुतले व्यावसायिक भवन निर्माणको काम यसै बर्षबाट काम शुरु गर्ने लक्ष्य लिइएको छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको बाटो फुटपाथ र सर्भिस ट्रयाक यसै आवमा सुरु गर्ने गरी प्रक्रिया अगाडि बढेको छ ।’
फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आँपटारीमा रहेको महानगरपालिकाको जमिनमा फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रमका लागि कोरियाली सरकारसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्बन्धी सम्झौता भई काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, भरतपुर वडा नम्बर १९ स्थित रानीपोखरी पार्क निर्माण सहितको पहुँचमार्ग, देवघाटमा विद्युतीय शवदाह गृह, भरतपुर केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कको स्तरोन्नति टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने भएको छ । रंगशाला निर्माणको लागि भरतपुर महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा १६ बिघा जग्गा उपलब्ध गराएपछि डीपीआर निर्माण कार्य सुरु भइसकेको छ । सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि तीन नम्बर वडा अन्तर्गत नारायणी नदी किनारमा प्रकृया अगाडि बढाइएको र औद्योगिक प्रदर्शनीस्थल र भरतपुर महानगरीय फलफूल तथा तरकारी बजार निर्माणमा महानगरको समन्वयात्मक पहल भइरहेको महानगरपालिकाले जनाएको छ ।