दमौली, ७ फागुन
रजस्वला भएको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । रजस्वला हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले म्याग्देका नौ वटा विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो ।
आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने नौ वटा विद्यालयमा प्याड वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिनुभयो । आधारभूत र माध्यमिक तहसहित कक्षा ११ र १२ मा ७५३ छात्रा अध्ययनरत छन् । उनीहरुका लागि पाँच हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी शैक्षिक शत्रसम्मका लागि पुग्ने गरी विद्यालयलाई प्याड वितरण गरेका छौँ । विद्यालयमै प्याडको व्यवस्था गरिदिएपछि छात्रा नियमित आउने विश्वास छ ।” विद्यालयका शिक्षिकालाई प्याड व्यवस्थापनको जिम्मा दिइएको र प्याड कति प्रयोग भयो भन्ने रेकर्ड पनि उनीहरुले राख्ने तिवारीको भनाइ छ ।
रु तीन लाख २५ हजार खर्चिएर पाँच हजार प्याकेट प्याड विद्यालयमा वितरण गरिएको छ । उहाँले भन्नुभयो, “महीनावारी भएको समयमा छात्राको पढाइ अवरोध नहोस् भन्ने गाउँपालिकाको उद्देश्य हो । चेतनाको अभावले किशोरीले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण फैलने सम्भावना हुन्छ ।”विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार रजस्वलाको समयमा विद्यालय नआउने छात्राको दरमा कमी आउने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, “रजस्वलाको समयमा छात्रा विद्यालय नआउने दर बढ्दै गइरहेको थियो, विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित आउने गरेका छन् ।”
जिल्ला सुधारका लागि सामाजिक उत्थान (डिसु) नेपालले दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महीनावारी हुँदा छात्रा विद्यालय आउनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको संस्थाका अध्यक्ष नोमा थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार बजारमा पाइने प्याड सर्वसुलभ नभएको, स्वास्थ्यलाई असर पार्नुका साथै वातावरणमा समेत असर पार्ने भएकाले धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नतर्फ छात्रालाई प्रोत्साहन गर्न प्याड वितरण गरिएको हो ।
विद्यालयका कक्षा ६ देखि १० सम्मका ६० छात्रालाई सरसफाइका सामग्रीसहित सेनेटरी प्याड वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार कटन, फ्लाटिन र गोटाक्सको कपडाबाट बनाइने उक्त धुन मिल्ने सेनेटरी प्याड एक पटक निर्माण गरेपछि तीन वर्षसम्म प्रयोग गर्न मिल्छ । वातावरणमैत्री रहेको प्याड प्रयोग गर्न सहज हुनुका साथै सुलभसमेत पर्ने थापाले जानकारी दिनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यभक्त अधिकारीले सेनेटरी प्याड वितरण पछि छात्रा नियमित विद्यालय आउने बताउनुभयो । उहाँले विद्यार्थीलाई सेनेटरी प्याड निर्माणसम्बन्धी सीप हस्तान्तरण गरिदिनसमेत माग गर्नुभएको छ । (रासस)