चितवन समाचारडटकम २२ पुस । कार्यक्रम गर्ने विकल्पको स्थान हुदाहुदै संरक्षित क्षेत्रमा रत्ननगर महोत्सव आयोजना गरिएको छ ।
नगरपालिकाको अन्य क्षेत्रमा प्रसस्त स्थान भएरपनि रत्ननगर उधोग वाणिज्य संघले बन्यजन्तुको मुख्य करिडोर रहेको स्थानमा महोत्सव आयोजना गरेको हो । वन्यजन्तुको वासस्थान र वातावरणको दृष्टिले अत्यन्त सम्वेदनशील रहेको स्थान हो टिकौली चौर । त्यही चौरमा ठुला माइक, साँकृतिक कार्यक्रम, वालउधान लगायतका ध्वनी प्रदुषण गर्दै महोत्सव आयोजना हुन लागेको छ ।
नगरपालिकाको चित्रसारी चौर महोत्सवको लागि उपयुक्त स्थान हो । तर रत्ननगर उधोग वाणिज्य संघले त्यहा आयोजना नगरी सवैले विरोध गरेकै स्थान टिकौली चौर रोजेको छ । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय भरतपुर, संरक्षणकर्मी, वातावरण विज्ञले टिकौली चौर कुनैपनि हिसावले महोत्सवको लागि उपयुक्त स्थान नभएको बताएका छन् । तर संघले अटेर गरेर टिकौली चौरमा नै ध्वनी प्रदुषणले भरिएको महोत्सव आयोजना गरेको हो ।
मेला महोत्सव आयोजना गर्न सकिने स्थान चित्रसारी चौर
राष्ट्रिय वन क्षेत्रमा पर्ने यो स्थानमा कुनै कार्यक्रम गर्न डिभिजन वन कार्यालयको अनुमती आवश्यक पर्दछ । महोत्सव आयोजक सस्थाको दवावमा कार्यक्रम आयोजना गरेको वन डिभिजन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताउनु भयो । बैकल्पिक स्थानको खोजी नगरी दवावमा कार्यक्रम आयोजना गर्नु भयो हामीले केही गर्न सकेनौ उहाले भन्नुभयो ।
संरक्षित क्षेत्र हो त्यहा महोत्सव आयोजना गर्न हुदैन हामीले भनेका थियौ खनालले भन्नु भयो । ‘अनुरोध पत्र ल्याउनु भयो हामीले संरक्षणलाई ध्यान दिएर कार्यक्रम गर्न भनेका छौ तर मापदण्ड अनुसार आयोजकले गर्न सक्नुहुन्न ’ खनालले भन्नुभयो । वन कार्यालयले चित्रसारी क्षेत्रको चौरमा महोत्सव आयोजना गर्न सुझाव दिएको थियो तर संघले त्यसलाई मानेन । यस अगाडिका वर्षमापनि सो स्थानमा महोत्सव आयोजना नगर्न सुझाव दिएका थियौ तर अटेर गरेर आयोजना हुदै आएको छ डिभिजन कार्यालयले जानकारी दिएको छ । डिभिजन वन कार्यालयले महोत्सवपछि निस्कने फोहोर व्यवस्थापन अर्को चुनौती हुने जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको कोरीडोर रहेकै स्थानमा १२ दिनसम्म ठुलो साउण्ड स्पीकर राखेर महोत्सव आयोजना गर्दा त्यसको असर दीर्घकालिन हुने संरक्षण विज्ञको भनाइ छ । संरक्षणका दृष्टिले अन्त्यन्त सम्वेदशील रहेको स्थानमा यस्ता मेला महोत्सबले ज्यादै असर पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भयो ।
उहाले भन्नुभयो ‘चितवनमा मात्रै होइन अन्य स्थानका संरक्षित क्षेत्र नजिक हुने यस्ता महोत्सवले राम्रो गर्दैन ।’ महोत्सव हुने स्थान विश्वमानै दुर्लभ रहेको एकसिंगैं गैडाको वास स्थान हो । त्यहाँ नजिकै रहेको खगेरी खोला गैंडाको आहाल खेल्ने स्थान छ । पानी खान, चौरमा घास खान र घाम ताप्न आउने स्थान भएकाले त्यही महोत्सव आयोजना गर्दा बन्य जन्तुलाई ज्यादै असर पर्दछ प्रमुख संरक्षण अधिकृत आचार्यले भन्नुभयो ।
महोत्सवपछि निस्कने फोहोरले अझ धेरै असर गर्ने उहाँको भनाइ छ । संरक्षण क्षेत्रमा ठुला आवाज राखेर बजाइने माइक, सास्कृतिक कार्यक्रम, सवारी साधनको भिडलगायतले वन्यजन्तुको वासस्थान नै परिवर्तन हुन सक्ने आचार्यले बताउनु भयो । संरक्षण क्षेत्र नजिक कुनैपनि मानिसको भिड र अन्य कोलाहल हुने गतिविधि गर्न संरक्षणको दृष्टिले निषेध गरिएको उहाले बताउनु भयो ।
चरा विज्ञ वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु विडारीले महोत्सव आयोजनाले चरा गणनालाई असर पारेको बताउनु भयो । सोही स्थानको खगेरी खोला आसपास, चेपाङ तालमा स्थानीय जातको चराहरु पाइने गर्दछ तर महोत्सव आयोजनाले चराको बासस्थानमा असर परेको छ उहाले भन्नुभयो । यस्ता मेला महोत्सव संरक्षित क्षेत्र बाहिर आयोजना हुनु पर्दछ विडारीले भन्नु भयो ।
महोत्सव आयोजक सस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बैकल्पिक स्थानको अभावमा टिकौली चौरमा आयोजना गरेको बताउनु भयो । महोत्सव पुस २७ देखि माघ ८ सम्म आयोजना हुदैछ । यस्तै गरी नारायणी नदी किनारमा पुस २५ देखि माघ ४ सम्म चितवन मओत्सव आयोजना हुदैछ । दुइ महोत्सव वातावरण संरक्षणका दृष्टिले सकरात्मक नभएको विज्ञले बताएका छन् ।