अङ्ग्रेजी जान्न लाहुरेले खोलेको स्कुल नारायणी पब्लिकले मनायो रजत महोत्सव

चितवन समाचार डटकम, ५ फागुन ।
भुतपूर्व सैनिकहरुले आफ्ना सन्ततीलाई अंग्रेजी शिक्षाको आवश्यक्ता पुरा गर्ने उदेश्यले भरतपुर ११ मा बि. सं. २०५१ सालमा नारायणी ईङग्लीस पब्लिक विद्यालय स्थापना गरे । युद्धमा वीरगती प्राप्त गरेका करिव २ सय वालवालिकालाई आवासीय सुविधा सहित सैनिक ढाँचाको अनुशासनमा पठन पाठन थालियो । यो स्कुल चितवनको पाँचौं नीजि विद्यालय थियो ।
समयक्रममा व्यवस्थापन परिवर्तन हुदै जादा बिद्यालयले उतारचढाव वेहोर्योे । विद्यार्थी संख्या घट्यो । विक्रम सम्वत २०६३ सालमा विद्यालयले राजेश्वर खनाल, रामचन्द्र पोखरेल शशी दवाडी, भीष्मराज पौडेल सहितको ब्यबस्थापकिय समुह पायो । यो समयवाटै हरेक वर्ष प्रगती गर्दै अहिले १ हजार ७ सय भन्दा वढी विद्यार्थीलाई बिद्यालयले पठपाठन गराईरहेको छ ।
स्थापनाको ऐतिहासीक पृष्ठभूमी बोकेको यस बिद्यालयले आज सयौं विद्यार्थी र तिनका अभिभावकका माझ भव्यका साथ रजत महोत्सव मनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर खनालले नारायणी पव्लिक संस्थागत विद्यालय भएपनि अभिभावकको चाहाना बमोजीम कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको बताउनुभयो ।
पुराना दिन स्मरण गर्दै खनालले भन्नुभयो, “म पनि मध्यमवर्गिय परिवारवाट संघर्ष गर्दै आएको व्यक्ति हुँ, तपाई अभिभावकहरुलाई आफ्ना नानीवावु होस्टेल र ट्युसनका नाममा धेरै व्ययभार थोपर्ने मेरो कुनै उदेश्य छैन । नियमित पठनपाठन र घरयासी वातावरणमा सवैले ध्यान दिँउ अभिभावकको फजुल खर्च गर्ने तरिकालाई प्रोत्साहन गर्ने पक्षमा म छैन ।”
हाल कक्षा १२ सम्म विद्यालय तह र स्नातक तर्फको कलेज तह पनि नारायणी पब्लिकले सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षालाई जोड दिदैं दक्षजनशक्ति उत्पादनमा आफुहरुको ध्यान रहेको खनालले बताउनुभयो ।
रजत महोत्सव समारोहका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन बिष्णु कोइरालाले सबै शिक्षालयहरुले अब गुणस्तरिय शैक्षिक उत्पादनमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । विकसीत प्रविधिको रचानात्मक प्रयोग गर्दै बिद्यालयहरु अघि बढ्नुपर्ने कोइरालाको भनाई थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षक, अभिभावक र बिद्यार्थी गरी तिनै पक्षको सकारात्मक मेहनत रहन सके राम्रो शैक्षिक उत्पादन हुनसक्ने बताउनुभयो ।
नारायणी नमुना माविका प्रधानाध्यापक समेत रहनुभएका दवाडीले समग्र देशको शैक्षिक विकासका लागी सरकारी तथा नीजि सवै बिद्यालयको स्तरउन्नती आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्यावसन चितवनका पूर्व अध्यक्ष श्रीप्रसाद ढुंगाना र प्यावसन भरतपुर महानगरका अध्यक्ष लेखनाथ न्यौपानेले सरकारले नीजि विद्यालयसंग कर मात्रै असुल्ने कुनै राहत नदिने भन्दै आक्रोश व्यक्त गर्नुभयो । न्यौपानेले चितवनमा ९० हजार विद्यार्थी हाल नीजिमा र ७६ हजार बिद्यार्थी सरकारी बिद्यालयमा अध्ययन गरिरहेको बताउनुभयो ।
रजत महोत्सव समारोहमा भरतपुर अस्पतालका मेडीकल सुपरिटेन्डेन डा.कृष्णप्रसाद पौडेल , नेपाल पत्रकार महासंघ चितवनका सचिव तीर्थ नेपाल, जिल्ला शिक्षा ईकाई प्रतिनीधी बोमप्रसाद अर्याल, शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर भट्टराई, नेकपा वडा नम्वर ११ का अध्यक्ष प्रकाश आचार्य, नेपाली काँग्रेस वडा सभापति अमरवहादुर लामा लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

समारोहमा विद्यालयका प्रिन्सिपल वेदराज न्यौपानेले प्रगती प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा रजत जयन्तीका अवसरमा सम्पन्न विविध कार्यक्रमका विजेतालाई पुरस्कृत गरिनुका साथै सयपत्री स्मारिका विमोचन गरिएको थियो ।

ताजा अपडेट