माडी बन्ला त अयाेध्याधाम : बहसमा स्थानीय अगुवा महिला

प्रस्तुति   :        नारायण सापकोटा            
माडीमा अयोध्याधाम बनाउने विषममा अध्ययन अनुसन्धान कार्य अगाडि बढिरहेको अवस्थाम विभिन्न बहसहरु भइरहेका छन् । राजनीतिक दल, व्यवसायी, समामाजिक व्यक्तित्वहरुका धेरै विचारहरु त समान नै छन् । बनाउने प्रक्रियाका विषयमा भने केही फरक धारणहरु पनि आइरहेका छन् । रामधाम निर्माण गर्दा माडीका समग्र विकासका योजनाहरु पनि गुरु योजनाकै रुपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा भने सबैको समान धारणा नै रहेको पाइन्छ । रामधाम निर्माणको बहस चलिरहँदा आएका विचारहरुलाई सङ्कलन गरी सार्वजनिक गर्ने सम्बन्धमा यसपटक राजनीतिक र सामाजिक क्षेत्रमा लागेका महिलाहरुका विचारलाई समावेश गरिएको छ । विषय बहसकै रुपमा रहेकोले आवश्यकता अनुसार आएका नयाँ विचारहश्रलार्ई सार्वजनिक गर्दै जाने लक्ष्य पनि रहेको छ ।
माननीय गंगा बेलबासे, राष्ट्रिय सभा सदस्य –         वृहत खोज र अनुसन्धान गरी सरकार र स्थानीय निकायको समन्वयमा अयोध्या धामको विषय सार्वजनिक हुनुपथ्र्यो भन्ने मलाई लागेको हो । सम्माननीय प्रधानमन्त्रीबाट विषय सार्वजनिक भएर अनुसन्धान अगाडि बढिरहेको सन्दर्भमा अनुसन्धान कार्यलाई नै अगाडि बढाउनुपर्छ ।
माडीमा रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयलाई आधार मान्ने हो भने पनि रामको जन्म माडीमा भएको हुनसक्ने आधारहरु धेरै छन् । त्यसैले माडीका वाल्मीकि, परशुराम कुण्ड, गोद्धक,सोमेश्वर लगायतका धार्मिक स्थलहरुको विकास गर्ने योजनासहित काम अगाडि बढाउनुपर्छ भन्ने मेरो धारणा हो । मैले पनि पर्यटन मन्त्रीसँग पनि यो विषयमा छलफल गरेकै छु । माडीका पर्यटन, रिउ करिडोर, निकुञ्जले पारेका समस्या, ईको सिटी, अर्गानिक कृषि लगायतका विषयलाई दिर्घकालिन योजनाकै रुपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा सकारात्मक रुपले कुरा भइहेको छ । पर्यटन, कृषि, पर्यटन मन्त्रालय र पुरातत्व विभागको समन्वयमा काम अगाडि बढ्नुपर्छ ।
राम मन्दिर बनाउने प्रक्रियाको विषयमा विभिन्न विचारहरु आउनु स्वभाविक नै हो । यस्ता विचारलाई विरोधकै रुपमा बुझ्नु पनि हुँदैन । अहिले विषय अनुसन्धानकै चरणा रहेकोले अनुसन्धानबाट नै प्रमाणिक तथ्यहरु जुटाउनु पर्छ । यो विषयले माडीको पर्यटन विकासमा सहयोग पु¥याउने भएकोले सबैको सहयोगमा अनुसन्धानलाई निष्कर्षमा पु¥याउनुपर्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारकै समन्वयमा काम अगाडि बढाउनुपर्छ ।

रुक्मिणी चौधरी , केन्द्रिय अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,थरुहट –        अनुसन्धानलाई निष्कर्षमा पु¥याएर प्रधानमन्त्रीले विषय सार्वजनिक गरेको भयो हुन्थ्यो । त्यसैले अहिलेको काम भनेकै देश विदेशबाट विज्ञहरुलाई बोलाएर अनुसन्धानको कार्यलाई निष्कर्षमा पु¥याउनु नै हो । यो विषयमा पुरातत्व विभागले अग्रसरता लिएर कार्य अगाडि बढाउनुपर्छ । अनुसन्धानकै चरणमा आएका अनावश्यक बहसको अर्थ पनि हुँदैन ।
भारतमा पनि राम मन्दिरका सम्बन्धमा विवाद नै छ । राम जन्मेको यही नै हो भनेर प्रमाणिक आधारहरु पनि भेटिएका छैनन् । भारतमा पनि रामको जन्मभूमि सम्बन्धमा बहस हुँदा नेपालको माडी अयोध्यामा रामको जन्म भएको हुनसक्ने भनेर अनुसन्धान हुनु स्वागतयोग्य काम नै हो । भोलिका दिनमा कार्य फितलो हुनुभन्दा प्रमाणिक आधार खोजेर काम अगाडि बढाउनु उत्तम बाटो हो । प्रमाणिक र स्वीकार्य आधारहरु जुटाएर राम मन्दिरको कार्य अगाडि बढेमा माडी पर्यटनको विकास मात्र होइन, समग्र विकासको नै ढोका खोल्छ । माडी विकासको अवसर बन्न सक्छ । त्यसैले यो समयमा राजनीतिक प्रतिशोध भन्दा पनि एकताबद्ध भएर अनुसन्धानको काममा केद्रित हुनुपर्छ । 
ताराकाजी महत्तो, उप–प्रमुख माडी नगरपालिका– प्रधानमन्त्रीको पहलमा माडीमा रामधाम बन्ने विषय माडी विकासको सुअवसरको रुपमा मैले लिएकी छु । रामधाम निर्माणको विषय माडीका समग्र विकाससँग जोडिएको विषय हो । रामधामको विषय हाम्रो संस्कुतिको संरक्षण हुनुको साथै जनताको आय आर्जनसँग जोडिएको छ । त्यसैले यो विषय अगाडि बढ्दा माडीको निकुञ्ज, चेपाङ्बस्ती, आदिवासी जनजातिका समस्यालगायतका विषयहरु पछाडि पर्ने विषय नै आउँदैन , झन द्रुत गतिमा अगाडि बढ्छन् भन्ने लाग्छ । त्यसैले यो विषय माडी विकासको अवसर हो, यो अवसरलाई छोड्नु हुँदैन् ।
जहाँसम्म मन्दिर कहाँ बनाउने भन्ने छ , त्यसको जिम्मा प्राविधिक टोलीले नै लिनुपर्छ । माडी नगरपालिका र अध्ययन, अनुसन्धान समितिले केही ठाउँहरुको सिफारिस गर्ने र प्राविधिक टोलीले गरेको निर्णयलाई स्वीकार गर्नुपर्छ । यसमा अनावश्यक विवाद गर्नु हुँदैन । रामधाम माडीको जुन ठाउँमा बनेपनि माडीवासीको लागि गौरवको विषय हो , विकासको विषय पनि हो । अहिले खोज र अनुसन्धान कार्यमा सबैले सहयोग गर्नुपर्छ ।
माडीमा धार्मिक पर्यटनको विकासका लागि धेरै सम्भावनाहरु छन् । वाल्मीकि आश्रमदेखि ठोरीसम्मका धार्मिक , ऐतिहासिक र पुरातात्विक स्थलहरुलाई हेर्दा समग्र माडी नै धाम जस्तो लाग्छ । त्यसैले सबै स्थलहरुको गुरुयोजना नै तयार गरी अगाडि बढ्नुपर्छ ।
सबिता बराल, नेपाली काँग्रेस महासमिति सदस्यमाडीमा अयोध्याधाम बनाउने विषय माडीवासीको लागि गौरवकै विषय हो । तर यसको लागि धेरै चुनौतिहरु पनि छन् । सरकारका मन्त्रालयहरुबीच समन्वय गरी काम गर्नुपर्छ । सरकार परिवर्तन भएसँगै राम मन्दिरको चर्चा सेलायो भने समग्र विकासमा नै अवरोध उत्पन्न हुन्छ । त्यसैले तथ्य र प्रमाणका आधारमा काम अगाडि बढाउनुपर्छ भन्ने मेरो धारणा हो ।
माडीका वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्धकनाथ, भीमसेन इनार , पाण्डवनगर, सोमेश्वर लगायतका धार्मिक स्थलहरु संरक्षण र विकासको प्रतिक्षामा रहेका छन् । राम मन्दिर बनाउँने चर्चा चल्ला उल्लेखित धार्मिक स्थलहरुको पनि विकासमा ध्यान दिनुपर्छ । माडीका तत्कालै गर्नेपर्ने धेरै समस्या छन् । त्यस्ता समस्याहरु समाधान गर्ने विषयमा ढिलाई गर्नु हुँदैन । समग्र विकासका ढोका खोलेर अगाडि बढ्नुपर्छ । समन्वय र सहकार्यबाट नै काम अगाडि बढाउनुपर्छ ।
अम्बिका लामिछाने , सचिवालय सदस्य नेकपा चितवनप्रधानमन्त्रीले समग्र माडीको विकास गर्ने उद्देश्यका साथ गर्नुभएको रामधाम बनाउने पहललाई आस्था र विकासको दृष्ट्रिकोणबाट सकारात्मक नै छ । वृहत खोज र अनुसन्धान गरी बन्ने रामधामले माडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम बन्न सक्छ । संस्कृतिको संरक्षण गर्ने, धार्मिक आस्थाको विषयलाई सम्मान गर्ने काम पनि हुन्छ भन्ने लागेको छ ।
यतिबेला माडीमा निकुञ्जको विषय, चेपाङ् सुकुम्वासीको विषय, रिउ करिडोर निर्माणको विषय तुरुन्तै गर्नु पर्ने विषय हुन । यस्ता ज्वलन्त समस्या समाधान गर्न केन्द्रित नभइ राम मन्दिर बनाउने योजना ल्याउँदा जनताका समस्या सम्बोधन हुँदैनन् कि भन्ने चिन्ता पनि लागेको छ । प्रधानमन्त्रीले सार्वजनिक गरेको विषयमा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव पनि देखिन्छ । पार्टीमै पनि मतान्तर रहेकै छ । प्रधानमन्त्रीले सार्वजनिक गरेर अनुसन्धानको विषय अगाडि बढिरहेको सन्दर्भमा बहस गर्नुभन्दा पनि अनुसन्धानलाई निष्कर्षमा पु¥याउनुपर्ने देखिन्छ । यो विषयले माडीका अत्यावश्यक समस्या पछाडि पार्नु हुँदैन ।
शिवमाया भट्टराई,अध्यक्ष, नेपाल महिला संघ माडी – यतिबेला माडी राम मन्दिर बनाउने विषयमा चर्चा चलिरहेको छ । मन्दिर बनेर धार्मिक पर्यटनको विकास गर्नु राम्रो विषय हो । तर रिउको तटबन्धन, निकुञ्जले पारेका समस्या, सुकुम्बासी समस्या लगायत माडीलाई मणि बनाउनको लागि गर्ने पर्ने कामहरु नगरी रामधामको चर्चा आइरहँदा उल्लेखित समस्याहरु थाति रहेने हुन कि भन्ने चिन्ता लागेको छ ।
मन्दिर बनाउने विषय ठुलो कुरा होईन् । दीर्यकालिन रुपमा संरक्षण गर्नको लागि योजनाबद्ध रुपले अगाडि बढ्ने चुनौतिको विषय हो । त्यसैले अनुसन्धानलाई टुङ्गोमा पु¥याएर विश्वासिलो आधार तयार गरी काम अगाडि बढाउनुपर्छ । राजनीतिक प्रतिशोधले काम गर्नु हुँदैन् । सरकार परिवर्तन हुँदा पनि काम अगाडि बढ्ने वातावरण तयार गरी काम गर्नुपर्छ । माडीका समग्र धार्मिक स्थलहरुको संरक्षण र विकासमा ध्यान दिनुपर्छ ।
सोमा पन्त, सदस्य, नगर शिक्षा समिति माडी – सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको रामधाम निर्माण गर्ने विषय माडीवासीको लागि गौरवको विषय हो । यसले समग्र माडीको विकासमा सहयोग पुग्छ भन्ने विश्वास लागेको छ । यो धर्मको मात्र विषय नभई आस्था र विकाससँग जोडिएको विषय हो । यसलाई अवसरको रुपमा लिएर काम अगाडि बढाउनुपर्छ ।
रामधामको निर्माण गर्दा चेपाङ, सुकुम्बासी, आदिवासी, निकुञ्जलगायतका समस्याहरु ओझेलमा पर्छन कि भन्ने चर्चा पनि आएको छ । मलाई लाग्छ रामधानको निर्माण गर्दा यी रोकिने विषयहरु हैनन् । रामधाम निमार्ण गर्ने विषय समग्र माडी विकासको गुरुयोजनासँग सम्बन्धित भएकोले कुनै विकास रोकिने भन्ने प्रश्न नै आउँदैन । त्यसैले यो विषयलाई समग्र माडी विकासको अवसरको रुपमा अगाडि बढाउँनुपर्छ ।

पूर्णिमाया चेपाङ, वडा सदस्य माडी माडी नगरपालिकाप्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको राम मन्दिर बनाउने विषयले माडीको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास रहेको छ । त्यसैले यसलाई हामीले सकारात्मक रुपमा लिएर आवश्यक सहयोग पनि गर्नेनै छौं । यो विषयका कारण माडीका अन्य विकासहरु पनि अगाडि बढ्ने भएकोले अनावश्यक विवाद नगरी अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।
यतिबेला चेपाङलगायत भूमिहीन सुकुम्बासीहरुको समस्या समाधान गर्नु प्रमुख विषय हो । घर बनाउन नपाएर चेपाङहरु रुखमुनि बस्न बाध्य छन् । यो समस्यालाई पनि चाँडो समाधान गर्नुपर्छ । राममन्दिरको निमार्ण हुँदा हाम्रा समस्या ओझेलमा पर्नु हुँदैन । हामी आशा गछौं रामधामको विषयले हाम्रा समस्या समाधान गर्न थप मद्दत गर्नेछ ।
रजपतीया चौधरी, अध्यक्ष बघौडा सामुदायिक होमस्टे माडीमाडीको पर्यटन विकास गर्नुका साथै धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रधानमन्त्रीबाट आएको रामधाम बनाउने विषय स्वागत योग्य रहेको छ । यो विषयले आदिवासी, जनजातीलगायत सबैको कला संस्कृतिको संरक्षण र विकास हुन्छ भन्ने मलाई लागेको छ ।
यो विषयलाई अनुसन्धान गरी निष्कर्षमा पु¥याएर काम अगाडि बढाउनुपर्छ । अनुसन्धानको विषयमा विवाद गर्नुभन्दा सत्य तथ्य जुटाउन अगाडि बढ्नुपर्छ । यो कला संस्कृति संरक्षण गर्ने विषय भएको हुनाले साझा धारणा बनाएर नै अगाडि बढ्नुपर्छ ।

शेयर गरौ

ताजा अपडेट