भरतपुर अस्पताल एककदम अगाडि : कोरोना संक्रमितलाई अलगै अप्रेशन कक्ष

चितवन समाचार डटकम,
१९ भदौ । भरतपुर अस्पतालले कोभिड १९ र साधारण विरामीको लागि अलगै अप्रेशन स्थान निर्माण गरेको छ ।
अस्पतालमा कोरोना संक्रमित विरामीको चाप वृद्धि भएपछि अप्रेशन कक्ष नै अलगै स्थापना गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले कोभिड र साधारण विरामीको लागि आइतबारबाट अलगै अप्रेशन गर्ने व्यवस्था मिलाएको जानकारी दिनु भयो ।
चितवनसहित १९ जिल्लाका विरामी अस्पतालमा आउने भएकाले जटिल अवस्थाका विरामीलाई अप्रेशन गर्नु परेमा अलगै स्थान निर्माण गरेको बताउनु भयो । ‘उपचार नपाएर मर्नु पर्ने अवस्था अव आउदैन’ उहाले भन्नु भयो ‘अन्य जुनसुकै समस्या भएर उपचार गर्न आउन सक्ने वातावरण भएको छ ।’
कोरोना संक्रमित विरामीलाई राख्ने १६ शैयाको आइसीयु निर्माण गरेको जानकारी दिएको छ । साधारण आइसीयु १० र कोभिड विरामीको लागि १६ आइसीयु तयारी अवस्थामा रहेकाले केही हदसम्म सेवा पाउने बताउनु भयो ।
अस्पतालमा एकसय ७५ शैयाको आइसोलेसन, विरामी कुरुवा घरमा क्वारेन्टाइन राखिएको अस्पतालका सूचना अधिकारी लिलाधार पौडेलले बताउनु भयो ।

संक्रमित गर्भवतीका लागि छुट्टै कक्ष
कोभिड–१९ संक्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण गरेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन सुरु गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो ।

चितवनसहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाएको हो । भरतपुर अस्पतालमा वार्षिक १३ हजारभन्दा बढी गर्भवती सुत्केरी हुने गर्दछन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जनाभन्दा बढी गर्भवतीले यहाँ बच्चा जन्माउने गरेका छन् ।

अन्यत्र भन्दा सुरक्षित ठानेर नै यहाँ बढी गर्भवती सुत्केरी हुन आउने गरेको उहाको भनाइ छ । हालसम्म अस्पतालले चार जना कोरोना संक्रमित महिलाको प्रसूति गराइसकेको छ । एक जना महिला आइसोलेसनमा रहेको सापकोटाले जानकारी दिनु भयो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार ती कक्ष निर्माण भइसकेको जानकारी दिनु भयो । कोभिडको आइसोलेसन बनाइएको अस्पतालको ‘ए’ ब्लकको भुइँतलामा यसअघिको सर्जिकल क्याबिनका १० कोठामध्ये चार कोठामा छुट्टै कक्ष बनाइएको छ । कोभिड संक्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटरसमेत जडान गरिने तिवारीले जानकारी दिनु भयो । कोभिडका बिरामी आउने छुट्टै प्रवेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या हुने छैन ।

प्लाज्मा थेपारी उपचार गर्ने
कोरोना संक्रमित विरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गर्ने भएको छ । अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले कोरोना संक्रमित विरामी निको भएको १४ दिनपछि रगत दान गर्न समेत आग्रह गर्नु भएको छ । निको भएका विरामीलाई संक्रमित विरामीमा रगत दिएर उपचार गर्ने व्यवस्था आइतबारबाट सुरु गर्ने तयारी भएको जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट