शालिग्राम नेपाल
२६ जेठ । कोरोना संक्रमणको डरले अहिले देशनै लकडाउन (बन्दाबन्दी) मा छ । घरभित्र बस्नुपर्ने बाध्यताकाबीच केहीमानिसहरु रचनात्मककार्यमा लागेका छन् । यस्तै मानिसहरुमध्ये चितवनका पुराना पत्रकार रामबाबु सुवेदी(राबासु) आफूमा भएको कलालाई निखार्दै हुनुहुन्छ । व्यावसायिक कलाकार, कार्टुनिष्टहुँदै पत्रकारिता क्षेत्र अँगाल्न पुग्नु भएका सुवेदीलाई आफूमा भएको कला र क्षमतालाई यो बन्दाबन्दीको समयमा सदुपयोग गर्ने अवसर बनेको छ ।
भनिन्छ ‘जहाँ चुनौती त्यहाँ अवसर’ त्यही चुनौतीलाई अवसरको रुपमा बदल्नु भएको छ कलाकार सुवेदीले । जिल्लामा दुई दशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका सुवेदी एक कुशल चित्रकार (आर्टिष्ट) हुनुहुन्छ । उहाँले यो लकडाउनको समयलाई सदुपयोग गरी आफूमा भएको कलाकारितालाई फेरि निरन्तरता दिनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ९ स्थायी घर भएका सुवेदी २०३५ सालबाट औपचारिक रुपमा पेन्टिङ्ग व्यवसायमा लाग्नु भएको हो । सुरुमा पोखरा, दाङहुँदै २०४३ देखि चितवनमै बसेर व्यवसायकै रुपमा कला क्षेत्रमा लाग्नु भएका उहाँले पछिल्लो चरण अर्थात् २०५५ सालमा नारायणगढ बजारमा नवरंग आर्ट स्टुडियो समेत सञ्चालन गर्नु भएको थियो ।
आफूले थाहा पाउँदा देखिनै चित्र कोर्न थालेको बताउने सुवेदीले बाल्यकालमा पहिलो फोटो तत्कालीन राजारानीको बनाए बापत विद्यालयबाट पुरस्कृत समेत भएको स्मरण गर्नुहुन्छ । साइन बोर्ड, होर्डिंग बोर्ड, वालपेन्ट, बेनरका अलावा उहाँले पानी रंग र तेलरंगबाट पोर्टेट (मुहार चित्र) तथा विभिन्न सिनसिनरी (ल्याण्डस्केप) कुशल ढंगले बनाउनुहुन्छ ।
त्यस्तै २०५० र त्यसपछिका समयमा नेपाली चलचित्रको व्यापार राम्रो भएकाले फिल्म प्रचारका ठूला ब्यानर बनाएको सम्झना ताजा छ उहाँमा । प्रविधिको पछिल्लो समय विकास भएको फ्लेक्स प्रिन्टसँगै हातले गर्ने कम्पनीका प्रचारहरु वाल पेन्ट, होडिङबोर्ड पेन्टलाई प्रभाव पा¥यो । लामो समय एउटै पेसामा लाग्दा फरक पेसा गरौँ भन्ने मनमा लागेपछि उहाँको यात्रा २०५३ सालबाट पत्रिकामा कार्टुन बनाउने कामतर्फ लाग्यो । उहाँले कार्टुन कलासँगै पत्रकारिताको यात्रामा पाइला टेक्नु भयो ।
चितवनबाट प्रकाशितहुने पत्रिका पारदर्शी दैनिकबाट सुरु भएको उहाँको कार्टुन कला तत्कालीन अवस्थामा चितवन पोष्ट, पूर्वी नवलपरासीको गैँडाकोटबाट प्रकाशित हुने आदर्श समाजमा समेत पुगेको उहाँ बताउनु हुन्छ । कार्टुन कलामा व्यवसायिकता नभएपछि उहाँ समाचार लेखनतर्फ केन्द्रित हुन थाल्नु भयो । यो क्रममा उहाँले पत्रकारिता र व्यावसायिक पेन्टिङ्गको काम सँगै लैजाने प्रयत्न पनि गर्नु भयो तर, दुवै पेसा व्यावसायिक रुपमा लामो समय लैजानन सकेपछि २०५७ बाट पेन्टिङ्गलाई छाडेर पत्रकारितामा लाग्नु भएका उहाँ आजसम्मपनि क्रियाशील हुनुहुन्छ । उहाँ हाल चितवन पोष्ट दैनिकको वरिष्ठ सहसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
सुवेदीले गैँडाकोटमा आजसम्म पनि व्यावसायिक कला पेसा अँगाल्दै आएका भीमप्रसाद शर्मा र सुवर्ण प्रधानलाई समकालीन मान्नु हुन्छ । ‘उहाँहरुले व्यावसायिक सफलता पाउनुु भएको छ, किनभने उहाँहरु निरन्तर लाग्नु भयो, म आफूले व्यावसायिक रुपमा भने निरन्तरता दिन सकिनँ ’ उहाँले भन्नुभयो ।
उहाँले २०५४ सालतिर बीपी कोइराला, मदन भण्डारी, तत्कालीन राजारानीलगायतको मुहार चित्र (प्रोटेट) बनाएर बिक्री गर्नु भएको थियो । सो समयमा नवलपरासी तथा चितवनका स्थानीय गाउँ विकास समितिहरुले दिएका अर्डरका आधारमा निर्माण गरेको सम्झना उहाँसँग छ । आफ्नो कालाकारिताको क्षमतालाई कदर गर्दै तत्कालीन स्थानीय सरकारले दिएको पुरस्कार, सम्मान, चितवनमा भएका विभिन्न महोत्सवहरुमा चित्रकला, मूर्तिकला प्रतियोगिताको निर्णायकको भूमिका मार्फत दिएको योगदानलाई उहाँले बिर्सनु भएको छैन ।
सरकारले २०७६ चैत्र ११ गतेबाट लकडाउन लगाएपछि अन्य समय भन्दा फुर्सद हुँदा उहाँलाई पुरानो पेसाको याद आयो । त्यही क्षमतालाई उहाँले फेरि कागजमा उतार्न थाल्नुभयो । उहाँले पहिलो फोटो आफ्नी श्रीमतीको बनाएर सुरु गर्नु भयो । त्यसपछि परिवारका सदस्यहरुको फोटो बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको छ । यसरी फोटो पेन्ट गर्न थालेपछि दैनिक दर्जनौँ संख्यामा आफ्नो फोटो पेन्ट गरिदिनु प¥यो भन्दै फोन आउने गरेको सुनाउनु हुन्छ ।
आफ्नो घरमा भएका २५ र ३०वर्ष पुराना जमेको रंगलाई कठिनका साथ प्रयोग गर्दै मुहार चित्र कोर्न थाल्नु भएका सुवेदीपछि यही पेसालाई निरन्तरतादिने सोचाइमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सुरुवाती पेसा कला व्यवसाय, बीचमा पत्रकारिता भयो र जीवनको उत्तरार्धमा कलाकारितालाई नै निरन्तरता दिने सोचाइ राखेको छु ।’उहाले चितवनको कालिका एफएम, रेडियो त्रिवेणी, तनहुँ को रेडियो, सञ्चार सन्जालको लोगो सहित दर्जनौ सस्थाहरुको लोगो बनाइसक्नु भएको छ ।
कलाको माग जहिलेपनि हुने भएको बताउने सुवेदीको प्रचार प्रसारमा सामाजिक सञ्जालपनि सहयोगीहुने भएकाले पेसालाई निरन्तरता दिन सहज हुने बुझाइ छ ।