रुकुम पश्चिम घटनाको विरोधमा दलित पत्रकारको दीप प्रज्वलन

माडी, १८ जेठ । रुकुम पश्चिममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले दोस्रो चरणको विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

संघले आईतबार माडीस्थीत बसन्तपुर बजारमा शान्तिपूर्ण विरोध र्याली र माडी नगरपालिकाको प्राङ्गणमा “सरकार ! अँध्यारोमा कहाँ छ ? उज्यालो यहाँ छ” भन्ने मूल नारा सहित दिउँसो दीप प्रज्वलन गर्दै साङ्केतिक विरोध गरेको हो ।
रुकुम पश्चिममा भएको नरसंहारको घटनाले सिङ्गो दलित समुदायलाई चोट पुर्याएको छ र उक्त घटनामा संलग्न सबैलाई तत्काल हदै सम्मको कारवाही, पीडित पक्षले न्याय पाउनुपर्ने, सम्पूर्ण घाइतेहरुलाई उपचारको व्यवस्था हुनुपर्ने माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा जिल्ला शाखा चितवनले माडी नगरपालिका अगाडी दीप प्रज्वलन गर्दै दोस्र्रो चरणको साङ्केतिक विरोधको कार्यक्रम सम्पन्न गरेको शाखा अध्यक्ष अमिर रामदामले जानकारी दिए ।

राष्ट्रिय दलित पत्रकार संघ चितवनकी कोषाध्यक्ष प्रिती पोखरेल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ बाग्मती प्रदेश सदस्य अशोक परियारको प्रमुख आतिथ्यता रहेको थियो ।
“जब सम्म हाम्रो समाजमा जातीय असमानता अन्धकार हट्दैँन, तब सम्म हामी उज्यालो तर्फ जान सक्दैनौं” संघका बाग्मती प्रदेश सदस्य परियारले कार्यक्रममा भने “राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा दलित समुदायमाथीको विभेद र नरसंहारको विषयमा चरणबद्ध रुपमा शान्तिपूर्ण विरोध” गरिरहेको बताए ।
कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाज माडीका अध्यक्ष डिलबहादुर गायक, नेपाल दलित मुक्ति मोर्चा माडीका अध्यक्ष रामबाबु विश्वकर्मा, नेपाल दलित संघ माडीको तर्फबाट गोमा परियार, न्यायका लागी संयुक्त दलित संघर्ष समिति माडीका संयोजक यमकुमार ल्वागुन लगायतको उपस्थीति रहेको थियो ।
त्यस्तै दलित अधिकारका लागि माडी क्षेत्रमा क्रियाशिल संघसंगठनहरुसंगै राष्ट्रिय दलित पत्रकार संघ चितवनले आज माडी नगरपालिका मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले अन्तरजातीय विवाहलाई प्रोत्साहनको नीति रहेको बताएका छन् ।

प्रमुख ढकालले नगर क्षेत्रमा अन्तरजातीय विवाह गर्नेलाई सम्मानस्वरुप नगद एक लाख रुपैँया पुरस्कार दिने सार्वजनिक गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघको प्रतिनिधित्व गर्दै बाग्मती प्रदेश सदस्य अशोक परियार, जिल्ला शाखा चितवनकी कोषाध्यक्ष प्रिती पोखरेल विश्वकर्माले उक्त ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन् । यस अघि राष्ट्रिय दलित पत्रकार संघ चितवनले जेठ १६ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनको प्राङ्गणमा दिउँसो दीप प्रज्वलन गर्दै रुकुम पश्चिम घटनाको साङ्केतिक विरोध गरेको थियो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकाल, क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकाल, नेपाल प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले विरोध कार्यक्रममा प्रतिनिधिमुलक ऐक्यवद्धता जनाएका थिए ।

शेयर गरौ

ताजा अपडेट