सबै विधालयमा ईन्टरनेट पुर्‍याउने तयारी

काठमाडौ १० जेठ । नेपाल दूर सञ्चार प्राधिकरण र नेपाल टेलिकमका प्रमुखहरुले अनलाइनमार्फत् भर्च्युअल पठनपाठन गराउन राज्यले चाहेमा आफूहरु विद्यालयमा इन्टर्नेटको पहुँच पुर्याउन तयार रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित ‘अनलाइन शिक्षा कति सम्भव ? पहुँच र विकल्प’ विषयक भिडियो छलफलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भन्नुभयो, ‘ग्रामीण दूर सञ्चार कोषबाट शिक्षामा लगानी गर्न नेपाल दूर सञ्चार प्राधिकरण तयार छ । तर, सरकारले दूर सञ्चार नीति अनुसार लगानी गर्ने निर्णय गरेमा खर्च गर्न सकिन्छ ।’ कोषबाट विद्यार्थी–शिक्षकका लागि चाहिने ल्यापटप तथा आवश्यक उपकरण उपलब्ध गराउन पनि सहयोग गर्न सकिने उहाँको भनाइ छ । यसका लागि शिक्षा मन्त्रालय र विश्वविद्यालयहरुसँग हातेमालो गर्न प्राधिकरण तयार रहेको खनालले बताउनुभयो ।

छलफलमा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले स्मार्ट फोन र ब्रोडब्यान्डको पहुँचका सम्बन्धमा प्रश्न उठाउनुभएपछि खनालले उत्तर दिनुभएको थियो । अहिलेको ब्रोडब्यान्ड साँघुरो ‘पाथवे’मा रहेको भन्दै अब यसको बिस्तार गर्ने र सबै विद्यार्थीले पढ्न पाउनेगरी पहुँच पुर्याउने मौका अहिले नै भएको डा. रिजालको भनाइ थियो । उहाँले दूर सञ्चार प्राधिकरणले आफ्नो ग्रामीण दूर सञ्चार कोषमा रहेको रकम सरकारलाई सापटी दिनुको सट्टा अहिले आपत्कालमा ब्रोडब्यान्ड बिस्तार र शिक्षाका लागि खर्च गर्नुपर्थ्यो भन्नुभएपछि खनालले त्यसो गर्न आफूहरु तयार रहेको जवाफ दिनुभयो । खनालका अनुसार देशमा समग्र कनेक्टिभिटि १४५ प्रतिशत रहेको छ । त्यस्तै, ब्रोडब्यान्डको कनेक्टिभिटि ७५ प्रतिशत छ । मोवाइल फोनमा ५६ प्रतिशत र फिक्सब्यान्ड १९ प्रतिशत छ । उहाँले कोरोना जोखिम सकिएपछिको ४–५ महिनामा देशभरी सबै स्थानमा कनेक्टिभिटि पुर्याइसक्ने बताउनुभयो । अहिले कर्णाली क्षेत्रमा समेत सामुदायिक विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्थाहरुमा ब्रोडब्यान्ड नेटवर्क पुगिसकेको दाबी उहाँको छ । यी क्षेत्रमा स्थानीय रुपमा माग भएमा इन्टर्नेट नेटवर्क दिन सकिने पनि खनालले बताउनुभयो ।

अध्यक्ष खनालले अरु विषयबाहेक पठनपाठनका लागि मात्र विद्यार्थीलाई इन्टर्नेट छुट दिन सकिने बताउनुभयो । तर, अनलाइनमा मिल्दो पढाउने सामग्री तथा ‘कन्टेन्ट’ शिक्षा मन्त्रालय र विश्वविद्यालयले तयार पार्नुपर्छ भन्नुभयो । उहाँले आफूहरुले इन्टरनेटको पहुँच पुर्याउन सक्ने भएपनि अनलाइन माध्यमबाट पठनपाठनका निम्ति पहिला त विद्यार्थी–शिक्षक दुबैको ‘डिभाइस’ हुनुपर्ने र सोहीअनुसार मिल्दो शैक्षिक सामग्री बन्नुपर्छ भन्नुुभयो । इन्टर्नेट पहुँच छैन मात्र भन्नेहरुप्रति खनालको कटाक्ष थियो । ‘इन्टर्नेटको पहुँच छैन भनिरहँदा के कन्टेन्ट, हार्डवेयर, सफ्टवेयर सोलुसन हामीसँग छन् त ? क्लाउड र सर्बर कति छन् ? उहाँको प्रश्न थियो, ‘अहिलेकै इन्टर्नेट पहुँचलाई हामीले कतिको उपयोग गर्यौं त ? विद्यार्थी असाइन्मेन्टका लागि कति घण्टा इन्गेजमेन्ट भए, यसको रेकर्ड छ ?’

अनलाइन शिक्षाका लागि शिक्षक तयार रहनुपर्ने बरु शुरुमा ४० प्रतिशत इन्टरनेटमा आधारित भएर पठनपाठन शुरु गर्दा हुने खनालको भनाइ छ । अबको पठनपाठनमा समाधान भनेको इन्टर्नेट, रेडियो, टेलिभिजनलगायत ‘हाइब्रिड’ माध्यमबाट गर्न सकिने उहाँको धारणा छ ।

शेयर गरौ

ताजा अपडेट