निल खाएको विद्यालय कसरी भयो नमुना ? हेडसरको बयान जस्ताको तस्तै

चितवन समाचारडटकम
२२, माघ ।

भरतपुर महानगरपालिका वडा नम्वर १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय उदाहरणीय विद्यालयको रुपमा रहेको छ । उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा, चुस्त व्यवस्थापन आदीका कारण यो विद्यालय देशकै उत्कृष्ट मध्येको एक सामुदायीक विद्यालयको रुपमा स्थापित बनेको छ । कुनै वेला एसएलसी परिक्षामा नतिजा निल भएको यस विद्यालयमा आजकल उत्कृष्ट नतिजाका कारण हजार भन्दा माथीको संख्यामा विद्यार्थीहरु सिट अभावमा भर्ना हुन पाउदैनन् । नेपाल शिक्षक महासंघका केन्द्रिय सह अध्यक्ष समेत रहेका यसै बिद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद दवाडीलाई विद्यालय नमुना बन्न सफल हुनुको राज के होला ? भनि प्रश्न गरेका छौं ।
विद्यालयको सफलताको कथा बारे प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले राख्नुभएको भनाई जस्ताको तस्तै ः

फर्केर हेर्दा
नारायणी नमुना माध्यमिक विद्यालय २०२० साल जेठ ६ गते रात्री हाईस्कुलको नाममा जन्मिएको विद्यालय हो । शुरुमा शैक्षिक गुणस्तर असाध्यै कमजोर थियो । वाहिर तिर फेल भएको विद्यार्थीहरु यहाँ आउने गर्थे ।

दिनभर काम गरेका विद्यार्थी वेलुका पढ्न आउने गर्थे । वेलुका पढाई हुने तर विजुली वत्तीको व्यवस्था थिएन । लालटीन मैनटोल आदी वालेर पढाउनु पर्ने अवस्था थियो । दिनभर थाकेका विद्यार्थी साँझ पढ्न पनि नसक्ने अवस्था थियो । चितवनमा भर्खरै वस्ती वसेको वेला लामखुट्टेको विकराल समस्या थियो । पढ्न आउने विद्यार्थी मच्छडले टोकेर हैरान भएर खुट्टा वजार्दै लामखुट्टे धपाएर वस्नुपर्ने विडम्वना थियो । अनुशासनको कमी थियो । या विद्यालय चितवनकै कमजोर विद्यालय थियो । त्यसपछि रात्रीअवस्थामा विद्यार्थी कमी भएपछि ०४१ साल पछि दिवा स्कुलमा परिणत भयो ।

तर, शैक्षिक गुणस्तर उकासिन सकेन । एक वर्ष एसएलसी परिक्षामा निल भयो । ०३८ सालको एसएलसीमा एउटा विद्यार्थी पनि पास भएन । त्यसवेला हेडसरलाई विद्यार्थी र अभिभावकले कागजको कोट वनाएर रिजल्ट विगारेको भन्दै लाजमर्दो अवस्था भयो । विस्तारै ०४९ सालवाट कोचिङ र थप कक्षाहरु शुरु भए । प्रवेश परिक्षा लिन थालियो । यस स्कुलमा ०५३ साल देखी पास मार्क ४० अंक भनेर लागु गराइृयो । त्यस पछि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र शुभचिन्तक सवैको जोडवलमा सुधारिदैं गयो । ०५७ सालमा जिल्लाको प्रथम भयो । लामो समय प्रथम स्तरमै रह्यो ।

०६८ सालमा सरकारले देशभरीमा सामुदायिक विद्यालयको मुल्यांकन शुरु हुदा मध्यमाञ्चलमा आठौं भयो । ०६९ सालमा राष्ट्रिय स्तरमा पाँचौं भयौं । ०७० मा छैठौं भयौं । ०७१ मा पुग्दा नतिजा केही घट्यो देशभरीका २१ औं स्थानमा आईपुग्दा केहि निराश भयौं ।

तैपनि जिल्ला फस्ट भैयो । ०७२ सालमा मध्याञ्चल प्रथम र नेपालभरमा दोश्रो भयो । ०७३ मा प्रदेश नंम्वर ३ को पहिलो र नेपालको उतकृष्ट दोश्रो भयो । ०७४ सालमा नेपाल भरीमा तेश्रो भइयो । हामी अहिले पनि गुणस्तरमा नारायणी नुमना जती राम्रो सामुदायिक विद्यालय छैन । ७१ जना विद्यार्थीको ३ दशमलव ६५ जिपिए एसईईमा आयो ।
०६९ मा नमुना भएपछि विद्यार्थीहरु लाई भन्न थालियो , वावु नानीहरु तिमि नमुना स्कुलको विद्यार्थी हो । तिम्रो हरेक गतिविधी नमुना हुन जरुरी छ । आनीवानी, लवाई खुवाई, वोलीचाली , व्यवहार नमुना हुन पर्छ । नत्र तिम्रो मार्कसिटमा मोडल भनेर आउँछ त्यसले गिज्याउन सक्छ भन्ने गरिएको छ ।

अहिलेको अवस्था
यतीवेला विद्यालयमा २ हजार ५ सय विद्यार्थीहरु अध्यनरत छन् । ८१ जना शिक्षक छन् । जस्मा ३४ जनाले सरकारी तलव खान्छन् । वाँकीलाई अभिभावक संग चन्दा भनेर मागेर तलव खुवाउनुपर्ने अवस्था छ ।

६ विगाह ४ कठ्ठा १४ धुरमा विद्यालयको भवन चौर छ । २ विगाहमा प्राविधिक विषय पढाउने भनि भवन वन्दैछ । त्यो पनि नारायणी नमुनाले सञ्चालन गर्ने हो । आगामी वर्षमा डिप्लोमा ईन ईन्फरमेशन टेक्नोलोजीको लागी सम्वन्धन ल्याइ सकेका छौं ।

शिक्षकहरुलाई तालिमको अवसर दिइएको छ । प्रत्येक परिक्षाको नतिजाको पछि विश्लेषण गर्ने गरिन्छ । प्रत्येक मसान्तमा वैठक गर्छौ । कमजोरीको समिक्षा गर्दै अर्को महिनाको योजना तय गर्छौ । विद्यार्थीले लगवुक भर्ने अनिवार्य व्यवस्था गरेका छौं । नीजि विद्यालय छोडाएर यहाँ विद्यार्थी ल्याउनेको संख्या बढेको छ । यो वर्ष हामीले प्रवेश परिक्षामा सहभागी ११ सय ५० जना विद्यार्थीहलाई सीट अभावको कारण भर्ना लिन सकेनौं ।

यसरी भयो नमुना
एसएलसी परिक्षाको नतिजा ८० प्रतिशत भन्दा माथि निरन्तर हुनुपर्ने, विद्यालयमा होस्टलको व्यवस्था हुनुपर्ने, विद्यालयमा ६ फिटको अग्लो कम्पाउण्डवाल हुनुपर्ने, प्रोजेक्टरवाट पठनपाठन भएको हुनुपर्ने, सबै शिक्षक तालिम प्राप्त भएको हुनुपर्ने, ब्यबस्थापन समितिको निर्णयमा नोट अफ डिसेन्ट लेखेको हुन नहुने , सर्वसम्मत निर्णय भएको हुनुपर्ने, कक्षा कोठा दुई वटा ढोका सहितको आकर्षक हुनुपर्ने , दुईवटा पंखा हुनुपर्ने, गेटवाट कक्षाकोठा सम्म पुग्ने बाटो ढलाई वा प्लाष्टर हुनुपर्ने, फुलवारी र ग्रिनरी छुट्टीएको हुनुपर्ने, विद्यालय भवन सुरक्षित हुनुपर्ने, वाढी पहिरो खोला पहिराले धक्का लाग्ने खालको हुन नहुने यस सहित १५१ वटा सुचकांकमा सवै पुरा छ भनि स्थानीय, क्षेत्रीय र राष्टिय तीनवटा टोलीले मुल्यांकन गर्यो । योग्य छ भनि निर्णय गर्र्यो ।
अहिले हामी देशभरीका विद्यालयमा नमुना भनि भनेर ब्यानरनै परिवर्तन गर्न दिएको एउटा मात्रै विद्यालय हो ।

बिद्यालय नमुना वनाउने सुत्र
पहिलो कुरा त टिचर क्यान डु डिफरेन्स । शिक्षकले चाहेमा गर्न सक्छन भन्ने अभियान पनि आयो देशव्यापी रुपमा । शिक्षकले वनाउछु भनेर लाग्यो भने विद्यालय सुध्रन्छ । दोश्रो , विद्यालय व्यबस्थापन समितिले विद्यालय सञ्चालनमा राजनीतिक खिचातानी नगरीकन स्वतन्त्र ढंगले अगाडी वढ्न दिनुपर्छ ।
तेश्रो, शिक्षकले दश चारकोे जागीरको रुपमा सोच्यो भने कुनैपनि सामुदायिक विद्यालयले गुणस्तर सुधार्न सक्दैन । विहान दिउसोस वेलुका सवैवेला विद्यालय हो मेरो भनेर सोच राख्नुपर्दछ ।
टिमवर्कमा अघि बढ्न पर्दछ । एक्लैले केही हुदैन ।
अहिले पुरानो शैलीको शिक्षण विधी परिवर्तन गर्नुपर्दछ । प्रविधिको प्रयोग गरेर प्रोजेक्टर ,स्मार्टवोर्ड आदी राख्न पर्दछ । विद्यार्थीलाई त्यसरी मात्र पढउ पढउ लाग्छ । शिक्षण पद्धती पुरै परिवर्तन गर्न जरुरी छ ।
शिक्षकले दक्षता सीप वढाउनुपर्दछ । हरेक दिन नयाँ सिकाई गर्नुपर्दछ । नत्र पेशावाट हात धुनै पर्दछ ।

हेडसरहरुलाई सुझाव ,
मलाई के लाग्छ भने हेडसरहरुले एउटा योजना वनाउन जरुरी छ । स्पष्ट योजना चित्र नवनाईकन दौडेर कराएर मात्र विद्यालय बन्दैन । हेडसरले एउटा चित्र बनाउनुपर्यो ।
म मेरो स्कुललाई यती साल भित्र यस्तो वनाउछु भनि रुपरेखा कोर्नु पर्यो । सपना देख्ने हेडसरले हो , सबै शिक्षकले सपना देख्दैनन् । हेडसरले एउटा सपना देख्नुपर्यो ।

 

ताजा अपडेट